प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, April 19, 2009

भुटानी शरणार्थी कोटामा अमेरिका जाँदै नेपाली

वैशाख ७
नोबल एकेडेमी काठमाडौंका भाइस प्रिन्सपल नरेन्द्र शर्माले केही महिनाअघि राजीनामा दिए। ललितपुरको शुभतारा स्कुलमा पढाउँदै आएकी उनकी पत्नी तुलसाले पनि त्यही बेला जागिर छाडिन्। राजीनामा दिएको एक महिनाभित्रै उनीहरु आफ्ना दुई सन्तानसहित अमेरिका उडे। नजिकका साथीभाइलाई पनि विदेशिने सुइँको नदिएका नरेन्द्र अचानक अमेरिका उड्दा कलेजका सबै सहकर्मी छक्क परे।
खुल्दुलीको पोको बिस्तारै खुल्यो । नरेन्द्र त भुटानी शरणार्थीको रुपमा पो अमेरिका छिरेका रहेछन्। उनका सहकर्मीहरु झन् छक्क परे। किनभने उनी शरणार्थी भएको धेरैलाई पत्तै थिएन। काभ्रेको नाग्रे गागर्ची गाविसबाट ५ बर्षअघि ५१५४ नम्बरको नागरिकता लिएका उनले चावाहिलमा जग्गा किनेर घर नै ठड्याएका थिए। उनले आफ्नै नागरिकताको प्रतिलिपि पेश गरी पोस्टपेड मोबाइल र सवारी लाइसेन्स पनि निकालेका थिए। पछि थाहा पायौं उहाँको नाम त बेलडाँगी शिविरमै दर्ता भएको रहेछु नरेन्द्रका एक पूर्व सहकर्मीले भने।
नरेन्द्रले काठमाडौंमा सम्पत्तिमात्रै जोडेका थिएनन् प्रतिष्ठा पनि आर्जन गरेका थिए। दिल्ली विश्वविद्यालयबाट वाणिज्य र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका नरेन्द्रले लेखेका सरकारी खाता र लेखा परीक्षणसम्बन्धि दुई पाठ्यपुस्तक कक्षा ११ र १२ मा पढाइन्छन्। उनले सन्दर्भ सामाग्रीको रुपमा पनि केही पुस्तक लेखेका छन् जसले दुई बर्षअघिसम्म बजारमा एकछत्र राज गरेका थिए । शरण दिने देशकै नागरिक बनेर सम्पत्ति र प्रतिष्ठा आर्जेका उनी अहिले अमेरिकाको भर्जिनियामा छन्। उनले चावाहिलमा बनाएको घर बेचिसकेका छन्।
झापा र मोरङका ७ वटा शिविरमा १७ बर्षदेखि कष्टपूर्ण जीवन बिताउँदै आएका भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउने कार्यक्रमअन्तर्गत अहिले त्यस्ता मानिस पनि अमेरिका जाँदैछन् जसले नेपाली नागरिकतामात्रै लिएका थिएनन् विभिन्न पेशा वा व्यवसायमा जमेका थिए। विश्वमा कहीँ पनि शरणार्थीले शिविरबाहिर श्रम बेच्न पाउँदैनन्। दातृ निकायबाट रसदपानी र लत्ताकपडा पाउने शरणार्थीले शिविरबाहिर श्रम बेच्दा स्थानीय वासिन्दा र उनीहरुबीच द्वन्द्व पैदा हुने डरले अन्तर्राष्ट्रिय रुपमै यस्तो नीति लागु गरिएको हो।
तर शिविरबाहिर निस्केर विभिन्न शैक्षिक प्रतिष्ठान गैरसरकारी संस्था र कुटनीतिक नियोगमा जागिर खाएकामात्र हैनन् आश्रय दिने देशकै नागरिकता लिएका शरणार्थीहरु धमाधम तेस्रो देश बसाइँ सर्दा पनि संयुक्त राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले चासो प्रकट गरेको छैन। युनएचसीआरका अनुसार अहिलेसम्म ६४ हजार ७ सय ४६ भुटानी शरणार्थीले आवेदन दिएकामा १० हजार ४ सय ४७ जनाले मात्रै तेस्रो देश जाने अवसर पाएका छन्। तीमध्ये नेपाली नागरिकता लिएकाको सङ्ख्या पनि उल्लेख्य रहेको नागरिक खोजले देखाएको छ।
झापाको बेलडाँगी शिविर-३ का पदम खरेलले दमक-१० मा एकतले पक्की घर किनेका थिए। काँकडभिट्टा-काठमाडौं रुटमा चल्ने माताजी ट्राभल्सको एउटा बस उनकै नाममा थियो। दमकमा घर किनेपछि उनी रसदपानी र लत्ताकपडा बाँडिने बेलामात्रै बेलडाँगी जान्थे। तर नागरिकता नलिई घरजग्गा जोड्नु सम्भव नरहेको जगजाहेर हुँदाहुँदै पनि त्यसबारे सोधपुछ गर्ने तत्परता युएनएचसीआरले देखाएन। उनी आफ्नो घर र बस बेचेर अमेरिका पुगिसकेका छन्। ललितपुरको शुभतारा स्कुलमा पढाउँदै आएका डिल्लीराम अधिकारीले पनि नेपाली नागरिकता लिएका थिए। आफ्नै नागरिकताको प्रतिलिपि बुझाएर टेलिफोन निकालेका उनलाई पनि अमेरिका बसाइँ सर्न कुनै गाह्रो भएन।
डेढ दशकअघि 'अप्रिल मार्च टु भुटान' आन्दोलनको नेतृत्व गरी चर्चामा आएका हरि बङ्गाली पनि प्रायः दमक बजारतिर हुन्थे। ५ बर्षअघि यो संवाददाताले भेट्न खोज्दा उनी आफ्नै मोटरसाइकल चढेर दमकको एउटा होटलसम्म आइपुगेका थिए । त्यतिबेला आम नेपालीका लागि सुलभ बन्न बाँकी नै रहेको पोस्टपेड मोबाइल उनको कम्मरमा झुण्डिएको थियो । सातामा दुई दिन पाउने रसदपानीको भरमा गुजारा गर्ने एउटा शरणार्थीका लागि यस्तो रवाफिलो जिन्दगी कसरी सम्भव थियो बङ्गालीलाई चिन्नेहरु उनले धेरै व्यवसायमा लगानी गरेको बताउँथे । शिविरभित्र खरले छाएको झुपडीमा रात काट्नुको पीडा सायदै महशुस गरेका बङ्गाली पनि अहिले अमेरिका छिरेका छन् ।
सर्वोच्च अदालतका अधिवक्ता हरि फुयाँल नेपाली नागरिकता लिएकै आधारमा कुनै भुटानी शरणार्थीलाई तेस्रो देशको अवसरबाट बन्चित गर्न नमिल्ने बताउँछन् । "कसैले उजुरी गरेमा उसको नागरिकता बदर गर्न चाहिँ सकिन्छ," नेपाल ल क्याम्पसमा पढाइने शरणार्थी कानूनु पुस्तकका लेखक फुयाँल भन्छन् "कानूनको आँखा छलेकोले उसलाई भविष्यमा नेपाल आउनबाटै रोक्न पनि सकिन्छ।" तर शरण दिने देशकै नागरिक बनेर सम्पत्ति आर्जेका शरणार्थीहरु धमाधम तेस्रो देश जाँदा अपाङ्ग असहाय र बूढापाकाहरु चाहिँ नेपालकै थाप्लोमा बोझ बनेर थुपि्रने चिन्ता पैदा भएको छ। "यो चिन्ताको विषय हो," फुयाँल भन्छन् - "किनकि सबै शरणार्थीले तेस्रो देशको अवसर पाउँदैनन्।"
युएनएचसीआरले इच्छुक सबै शरणार्थीलाई तेस्रो देश लाने बताए पनि त्यसलाई पत्याइहाल्न सकिँदैन। किनभने अन्य कुनै देशले पनि अमेरिकाले जति शरणार्थी लैजाने घोषणा गरेको छैन। सुरुमा ६० हजारलाई लैजाने घोषणा गरेको अमेरिकाले भने पछिल्लोपटक 'आवश्यक परे यो सङ्ख्यामा केही वृद्धि गर्ने' बताएको छ । चाहेर पनि सबैले तेस्रो देश जान नपाउने अवस्थामा कस्ता शरणार्थीलाई प्राथमिकता दिइन्छ युएनएचसीआर प्रवक्ता निनी गुरुङ भन्छिन्, "हरेक शरणार्थीको सुरक्षाको व्यक्तिगत अवस्था हेरेर प्राथमिकता निर्धारण गरिन्छ।"
तर एक भुटानी शरणार्थी पत्रकार युएनएचसीआरसँग प्राथमिकतासम्बन्धि स्पष्ट मापदण्ड नरहेको बताउँछन्। " सरसर्ती हेर्दा पढेलेखेका र शारीरिक रुपले बलिया शरणार्थीले नै प्राथमिकता पाएका छन्"- उनी भन्छन् । उनी शरणार्थीलाई लैजान तयार देशहरु मानवीय सहयोगको भावनाले भन्दा पनि सस्ता श्रमिकको आवश्यकताले प्रेरित भएको आशङ्का गर्छन् । "हामी अङ्ग्रेजी बोल्न र लेख्न सक्छौं," उनी भन्छन्, "त्यही भएर हामीलाई लैजान अमेरिकाजस्ता देशहरु तयार भएको हुनुपर्छ।" उनी तेस्रो देश पुनर्वासका लागि शरणार्थी छनौट गर्ने आधार पनि यही हुनसक्ने बताउँछन्। "जो अङ्ग्रेजीमा तगडा छन् बलको काम गर्न सक्छन् उनीहरु सजिलै तेस्रो देश गएका छन्" - उनी भन्छन् ।
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पनि युएनएचसीआरले तेस्रो देश पुनर्वासका लागि शरणार्थी छनौट गर्दा निश्चित मापदण्ड नअपनाई विभेद गरेको बताउँछन्। रिजालका अनुसार त्यस्ता शरणार्थीले तेस्रो देश पुनर्वासका लागि प्राथमिकता पाएका छन् जसले भुटानमा घरजग्गा छाडेका छन्। त्यस्ता शरणार्थीले नै नेपालमा पढ्नेलेख्ने र दुनियाँदारी बुभुने अवसर पनि पाएका छन्। पछि कुनै दिन भुटान फर्किने र आफ्नो सम्पत्ति फिर्ताका लागि दबाव दिने डरले उनीहरुलाई सकेसम्म तेस्रो देश लैजान खोजिएको रिजालको ठहर छ । रिजालले डेढ बर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर शरणार्थीलाई तेस्रो देश लैजाने नै भए प्रत्येक परिवारबाट एक वृद्ध वा वृद्धालाई लैजान आग्रह गरेका थिए। "उहाँले न हुन्छ भन्नुभयो न हुन्न," रिजाल भन्छन् - "मेरो आग्रह त्यस्सै फासफुस भयो।"

No comments:

Post a Comment