प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, February 17, 2009

वैदेशिक रोजगार, आर्थिक मन्दी र नेपाली कामदार

कान्तिपुर दैनिक

रोजीरोटीको सपनामा विदेशिएका नेपालीहरू यतिखेर घर फिर्ने क्रम बढेको छ । अमेरिका र युरोपमा छाएको आर्थिक मन्दीको प्रभाव बिस्तारै विश्वव्यापी बन्ने क्रममा छ । नेपाललाई 'ग्लोबलाइजेसन'ले त्यति छोइनसकेको मुलुक भनिए पनि रोजगारीका लागि खाडी तथा मध्यपूर्वी मुलुकहरू, मलेसिया तथा दक्षिण कोरिया पुगेका नेपालीहरू घर फिर्न थालेका छन् । यही मन्दीको मार र समस्या समाधानमा सम्भावित उपाय पहिल्याउन प्रमुख रोजगार गन्तव्य रहेका मुलुकहरूबाट यसै साता काठमाडौं आएका ६ जना राजदूतहरू कान्तिपुरसँग गोलमेच सम्मेलनमा बहस गर्न तयार हुनुभयो । राजदूतहरू कतारका लागि डा सूर्यनाथ मिश्र, साउदी अरेबियाका लागि हमिद अन्सारी, संयुक्त अरब इमिरेट्सका लागि अर्जुनबहादुर थापा, इजरायलका लागि वैजनाथ थपलिया, मलेसियाका लागि डा ऋषि अधिकारी तथा दक्षिण कोरियाका लागि कमल कोइराला शनिबारको कान्तिपुर-गोलमेचमा सहभागी हुनुहुन्थ्यो । बहस क्रममा दक्षिण कोरिया, मलेसिया र संयुक्त अरब इमिरेट्समा मन्दीको तत्काल र ठाडो प्रभाव देखिने क्रम सुरु भएको र अन्यत्र भने बिस्तारै संकेतहरू देखापर्न थालेको निचोड फेला पर्‍यो । रोजगारीमा विदेशिएका नेपाली, रोजगारी गन्तव्य र मन्दीको प्रभावबारे भएको छलफलको सारांश-
तिपाईंहरूले जिम्मेवारी व्यहोरिरहनुभएको मुलुक नेपालका लागि रोजगारी गन्तव्यसमेत रहेकाले त्यहाँ आर्थिक मन्दीको स्थिति र प्रभाव के छ ?

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
डा ऋषि अधिकारी
-मलेसिया)- मलेसिया आफैंमा निर्यातमा निर्भर रहेको मुलुक हो । गार्मेन्ट, टेक्सटाइल, विद्युतीय सामग्री, फर्निचर आदि उत्पादन गरेर विश्व बजारमा लैजानु मलेसियाको अर्थतन्त्रको प्रमुख आधार हो । मन्दीको कारणले बाहिरी विश्वमा उत्पादित सामग्री खपत हुन नसकिरहेको अवस्था छ, निर्यात ह्वात्तै घटी कठिनाइमा छ । यो खतरापूर्ण अवस्था भविष्यमा अझ बढ्दो रहने निश्चित छ । फेरि मलेसियाली कामदार पनि बाहिरी मुलुकमा समेत कार्यरत छन् । यहाँबाट ३ लाख अर्धदक्ष, दक्ष कामदार सिंगापुरमा काममा गएका छन् । उनीहरू पनि मन्दीको मारमा परेर मलेसिया फिर्ने भएका छन् । यसो भन्दैमा नेपाली वा बंगलादेशीले गर्ने काम मलेसियनले गर्दैनन्, यसकारण त्यति डराइहाल्नुपर्ने अवस्था भने छैन । यद्यपि सन्त्रास भने छँदैछ ।
अर्जुनबहादुर थापा -संयुक्त अरब इमिरेट्स)- संयुक्त अरब इमिरेट्स -युएई) को हकमा अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानमा यसपालि ३ प्रतिशत विकास दर रहनेछ भनिएको छ, गतवर्ष यो दर ८ प्रतिशतमा थियो । आर्थिक मन्दीको प्रभावमा स्वाभाविक रूपमा युएई पनि पर्नेछ । पेट्रोलियम पदार्थ आधारित अर्थात् 'पेट्रो-बेस्ड' अर्थतन्त्र रहेको मुलुकमा यसको भाउ घटेकाले र प्रमुख निर्माण कम्पनीहरू खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि यो मन्दीको प्रभाव कहाँसम्म रहने हो भन्ने अड्कल गर्न गाह्रो छ, विश्वबैंकले पनि यसबारे भन्नसकेको छैन । गत वर्षमा मासिक २/३ हजार कामदारका मागपत्र आउने गरेकोमा यो जनवरीमा यो संख्या ९ सयमा सीमित भएको छ । युएईमा रहेका १ लाख २५ हजार २ सय ७८ नेपाली कामदारमध्ये ४५ प्रतिशत कामदार निर्माण क्षेत्रमा संलग्न छन् । यही क्षेत्र बढी प्रभावित रहेको अवस्थामा मन्दीको मार कतिसम्म तन्कने हो भन्न गाह्रो छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
वैजनाथ थपलिया

-इजरायल)- नयाँ अवसर गुम्ने र पुराना पनि स्थिर नबन्ने अवस्था इजरायलमात्रै होइन, विश्वव्यापी बनेको छ । नेपालीका हकमा केयर-गिभर
-सुसारे) महिलाको संख्या उल्लेख्य छ । यो काममा अधिकांश आर्थिक भार सरकारले व्यहोर्छन्, सामाजिक सुरक्षा पद्धतिका आधारमा । यसरी आर्थिक मन्दीको मारमा अथवा कामदार कटौती गरिएर नेपाली केयर-टेकरमा सिधै प्रभाव नरहला । अरू केही कृषिक्षेत्रमा रहे पनि उनीहरू आफ्नो पाँचवर्षे भिसा अवधि पूरा गरेर फिर्ने क्रममा छन् । अबका दिनमा कृषिक्षेत्रका लागि थाइल्यान्डले ठाउँ लिइसकेको छ ।
हमिद अन्सारी -साउदी अरेबिया)- साउदी अरेबियामा भने आर्थिक स्थिति स्थिर छ, मन्दीको अवस्था र कुनै प्रभावसमेत छैन । इस्लामिक अर्थ प्रणालीअनुरूप बढी चलायमानभन्दा स्थिर शैलीको अर्थतन्त्र कायम छ, धेरैजसो बैंकहरूमा ब्याज लिने-दिने अवस्था छैन । साउदीमा नेपाली कामदार झन्डै ५ लाख छन् । साउदीको २६ मिलियन जनसंख्यामा ६ मिलियन त बेरोजगार नै छ । र यही अनुपातमा आप्रवासी कामदार छन् । बरु 'साउदाइजेसन' -साउदी नागरिकले जागिर पाउने अवस्था) भने बढेको छ ।
डा सूर्यनाथ मिश्र -कतार)- कतार मिनी-नेपालजस्तै हो । यहाँको १५ लाख जनसंख्यामा झन्डै ३ लाख नेपालीको छ । ३ लाखमा ८० प्रतिशतभन्दा बढी अदक्ष कामदारका रूपमा कार्यरत छन्, जो अधिकांश निर्माण क्षेत्रमा संलग्न छन् । यसमा झन्डै १५ हजारजति गैरकानुनी हैसियतमा रहेको अनुमान छ । आर्थिक मन्दी र कामदार कटौतीको मार परेमा यिनै गैरकानुनी नेपालीहरू भने पर्नसक्ने सम्भावना छ । तर अरू २ लाख ८६ हजार ५ सय ११ कामदार भने सुरक्षित छन् । यस वर्ष पनि नेपालीका लागि १ लाख १२ हजारवटा भिसा स्वीकृत भएको छ । कतारीको प्रतिव्यक्ति आय ७६ हजार डलर छ, उनीहरूको मन्दीलाई धान्न सक्ने आर्थिक स्रोत र पहुँच छ । मलाई कतारमा आर्थिक मन्दी -रिसेसन) को डर छैन, बरु ठगी -डिसेप्सन) को छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
कमल कोइराला
-दक्षिण कोरिया)- अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सबैभन्दा बढी आर्थिक मन्दीको मारमा पर्ने मुलुकमा दक्षिण कोरिया पर्छ । दक्षिण कोरियामा १० लाख आप्रवासी कामदारमध्ये मुस्किलले साढे ७ हजारमात्रै नेपाली छन् । जसमा झन्डै २८ सय गैरकानुनी हैसियतमा छन् । मन्दीकै कारण कोरियाबाट एकजना पनि फिर्लान् भन्ने लाग्दैन । इपीएस पद्धतिको यस वर्षको ७२ हजारको कोटा पूरा भएकाले जनवरी-फेब्रुवरीलाई यो
रोक्का गरिएको हो । त्यसपछि यही मार्चमा आवश्यक कामदारको माग र आवश्यकता मूल्यांकन गरिने भएको छ ।
हो, मन्दीकै प्रभावस्वरूप डलरको तुलनामा वन -कोरियाली पैसा) को भाउ घटेको छ । विगतमा एक महिना कमाउँदा ६० हजार रुपैयाँ घर पठाउने एउटा कामदारले अब यति कमाउन दुई महिना मिहेनत गर्नुपर्ने भएको छ । हो, नयाँ इपीएस पद्धति भनेको काम पाएर कोरिया जाने भनेको होइन, कामका लागि कोरिया जाने अनुमतिमात्रै हो । तोकिएको २ महिना अवधि नाघेपछि कोरियामा गैरकानुनी भइहाल्छ । इपीएसमा जानेहरू पनि केही सयको संख्यामा अब गैरकानुनी हुने क्रममा छन् । यता जाँचपास भनेको काम दिन्छु भनेको होइन, कोरिया आउन लायक भइस् भनेको हो । सरकारले यो कुरा बुझाउनसकेको छैन ।
मिन्दीमा विशेषतः नेपाली कामदारको अवस्था कस्तो रहला ? कति घर फिर्लान् ?
डा अधिकारी- मलेसियामा त्यहाँको सरकारको तथ्यांकअनुसार २ लाख ८० हजार नेपाली कामदार छन् । तर अनौपचारिक रूपमा झन्डै ४ लाख नेपाली रहेको अनुमान छ । हाम्रो प्रमुख समस्या के छ भने दूतावासमा कामदार माग प्रमाणीकरण गर्न नआउनेको संख्या बढी छ । श्रम ऐन, नियमावलीका कारण कामदारले दुःख पाएका हुन् । 'डिमान्ड एटेस्टेसन'का लागि अनिवार्य दूतावास जानैपर्ने प्रावधान राखिनैपर्छ । बरु ठगियो, तलब दिइएन आदिजस्ता समस्या लिएर आउने भने हुन्छन् । तथ्यांकको अभावमा मन्दीले के-कति प्रभावित र कति घर फिरे भन्न गाह्रो छ । नेपाली कामदारहरू ९५ प्रतिशत निर्माण र सेवाक्षेत्रमा छन्, त्यही क्षेत्रमा मलेसियाले कामदार माग रोक्का गरिदिएकाले नेपाली थप प्रभावित हुने क्रम जारी रहनेछ । मन्दीबाट १ सय २५ जना घर फिरेको तथ्यांकमात्रै हामीसँग छ । मन्दीका कारण यहाँ क्षतिपूर्ति दिने क्रममा पनि दूतावासको प्रमाणीकृत कागजातलाई प्रमुख आधार मानिएमा डाटा राख्नमा हामीलाई सघाउ मिल्ने थियो । मलेसियामा घरेलु कामदार प्रतिबन्ध छ, तर भारत, बंगलादेशको बाटोबाट गइरहेका छन् । अब यसमा रोकावटको उपाय के अपनाउने ?
थापा- संयुक्त अरबको दुबईमा सञ्चालनमा रहेका अधिकांश निर्माण उद्योग प्रभावित भएका छन् । कतै काम रोकिएको छ भने कतै कामको गति धिमा छ । केही अघि ५७ वटा निर्माण कम्पनी कि बन्द हुने कि केही समय स्थगित हुने खबर आएको छ । त्यसमा पनि असर त रहला नै । रियल स्टेटको भाउ २५ प्रतिशत घटेको छ, दुबईमा । ओभरटाइम घटेको छ अथवा लामो समयका लागि छुट्टी दिने चलन बढेको छ । अर्काे स्रोत भनेको एयरलायन्स हो, गत सेप्टेम्बर महिनामा मात्रै एकतर्फी हवाई टिकट लिएर नेपाल वायुसेवाबाट मात्रै १ हजार नेपाली फिरेका छन् । यो
दुई-तीन महिनामै सबैतिर गरेर ४/५ हजार नेपाली फिरेका होलान् ।
अन्सारी- साउदीमा रहेका ५ लाख नेपालीमा भगौडाहरूका लागि अब केही कठिनाइ हुनसक्छ । फेरि साउदी सरकारले बंगलादेश र इन्डोनेसियाबाट कामदारको भिसा कम गरेको छ । तत्कालै आर्थिक मन्दीका कारण नेपालीलाई साह्रोगाह्रो
पर्ला भन्ने छैन ।
डा मिश्र- कतारमा सञ्चालनमा रहेका परियोजना बन्द भइहाल्ने अवस्था छैन । बरु नयाँ योजनाहरू भने बैंक ऋणको अभावमा सञ्चालन नहुन सक्छन् । खाडीमा पनि आर्थिक मन्दीबाट सबैभन्दा कम प्रभावित कतार हो । तर मन्दीबाट अबेरसबेर, धेरथोर प्रभावित हुने एकदम स्वाभाविक हो । गुणात्मक पक्ष र सस्तो सेवा शुल्कका कारण नेपाली लोकपि्रय छन् । ८६ हजार नेपाली गतवर्ष कतार भित्रिए । त्यसमा ४४ हजार २ सय ३५ को मात्रै दूतावासमा 'डिमान्ड एटेस्टेसन' छ, अरू गैरकानुनी बाटोबाट गएका छन् । त्यहाँ सबैजसो राजनीतिक संगठनको भ्रातृ संगठन छ, जिल्ला-जिल्लाका संगठन छन् । ९० भन्दा बढी संगठन छन् । तैपनि बिचल्लीको स्थिति उस्तै छ । सरकारले अवैधानिक तवरमा कामदार निर्यात गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्‍यो । कम्पनी एको भिसा दिने, कम्पनी 'बी' श्रम स्वीकृति र 'सी'को श्रम सम्झौता दिएर रोजगारीमा पठाउने म्यानपावर एजेन्सी र एजेन्ट कारबाहीको दायरामा आउनुपर्‍यो । नेपालीबाट नेपाली ठगिने क्रम उत्तिकै छ । सबैभन्दा बढी जिम्मेवार म्यानपावर एजेन्सी र एजेन्ट छन् । दूतावास कारबाहीको सिफारिस
गरेको गर्‍यै हुन्छ, यता सरकारी निकाय सुनेको नसुन्यै गरिरहन्छ ।
थपलिया- इजरायलमा भिसा रोकिएको वा खोलिएको अथवा गाजा क्षेत्रको तनावबारे पनि समाचार आइरहेको हुन्छ । यसबारे सरोकारवाला निकायबाट एक शब्द पनि सोधिने गरेको छैन, दूतावासलाई । भिसा वा अरू प्रक्रियाबारे सम्बन्धित दूतावासलाई जानकारी नगराई सूचना बाहिर आइरहँदा हामीलाई गाह्रो भइरहेको छ । तर केयर-गिभरमा माग आइरहेको छ । अब कृषिमा भने सायदै माग नआउला, थाइल्यान्डले लिइसकेको छ यो । निर्माण क्षेत्रमा चीनको बोलवाला छ । हाम्रो ठाउँ भनेको 'केयर-टेकर' नै हो ।
सिरकारले ँआर्थिक कूटनीति’को सिद्धान्त लागू गरे पनि मुस्किलले ३ लाख रुपैयाँ बजेटबाट कसरी यो नीतिको कार्यान्वयन हुन्छ ?
डा अधिकारी- आर्थिक कूटनीतिको यो 'टर्म' कुनै नयाँ चिज होइन । लगानीकर्ता ल्याउन सकिन्छ, वातावरण नरहेसम्म केही हुँदैन । मैले ७ हजार मेगावाट विद्युत उत्पादनको काम गर्ने एउटा लगानीकर्ता समूह ल्याएँ । प्रधानमन्त्रीसहितका सबै उच्च अधिकारीलाई यता भेट गराएँ, तर उनीहरू यहाँ आएर सबै स्थिति बुझिसकेपछि त्यति उत्साहित बन्न सकेनन् । आर्थिक कूटनीतिमा प्रभावकारिता खोज्न सडक, अस्पताल, शैक्षिक केन्द्र र उद्योग क्षेत्रलाई नेपालमा हडताल निषेधित घोषणा गरिनुपर्छ, लगानी ल्याउन सकिन्छ ।
थापा- जसरी, जुनै माध्यबाट भए पनि देशको आर्थिक समुन्नतिका लागि कूटनीति परिचालन गर्नु आर्थिक कूटनीति हो । चाहे लगानी ल्याएर होस्, चाहे पर्यटक ल्याएर होस्, चाहे अनुदान वा ऋणकै कुरा होस् । प्रभावकारी तुल्याउन धेरै मुलुकसँग लगानी सम्झौता गर्ने, दोहोरो कर पद्धतिलाई हटाउने उपाय अवलम्बन गर्नुपर्छ । मध्यपूर्वमा नेपालबारे जेजति प्रचार-प्रसार हुनुपर्ने हो, त्यति हुनसकेको छैन । पर्यटनप्रति उनीहरूको चासो बढाउन सकिएको छैन ।
थपलिया- ग्लोबलाइजेसनको युगमा विचार, जनशक्ति र पैसाको 'फ्लो' एकसाथ रहनुपर्छ । आर्थिक कूटनीति यही हो । इकोनमिक डिप्लोमेसीमा च्याम्बर अफ कमर्सजस्ता निजी कर्पोरेटहरू अझ अगाडि बढ्नुपर्छ ।
अन्सारी- मेरो एउटै मान्यता छ, हाम्रो सरस्वतीले साउदी अरब वा मध्यपूर्वको लक्ष्मीलाई नेपालमा भित्र्याउनुपर्‍यो । आर्थिक कूटनीति भनेको यही हो । मे २०, २००८ मा साउदी अरबको नागरिक फारुक अल जुमानीले सगरमाथामा आफ्नो झण्डा फहराएका थिए । उहाँ नेपालको प्रचार-प्रसारमा सक्रिय रूपले लाग्ने चाहना राख्नुभएको छ । हामीले फारुक अल जुमानीलाई सम्मान गर्ने र एउटा नेपाल प्रदर्शनी कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेका छौं ।
अलमाको भन्ने कम्पनी नेपालमा पेट्रो-रिफाइनरी -पेट्रोल प्रसोधन) कार्यका लागि इच्छुक छ । यता कहाँ के कता नमिलिरहेको अवस्था छ । साउदी अरेबियाले धान उत्पादनका लागि नेपाललाई पनि छानेको छ । १० किलोमिटर लम्माइ र १० किलोमिटर चौडाइको ठाउँ खोजी गर्दै त्यसमा धान उत्पादन गर्ने र साउदी पठाउने प्रस्तावमा रुचि राखेर यता पत्र पठाएको हो, महिनौंदेखि नेपालबाट जवाफ गएन । साउदी लगानीकर्ताले यसका लागि पैसा पनि जम्मा गरेको छ, तर यताबाट फलो-अप पनि भएन ।
डा. मिश्र- धेरैवटा पक्षमध्ये 'आर्थिक कूटनीति' कूटनीतिको प्रमुख आधार हो । खाडी मुलुकका लागि यो अझ महत्त्वपूर्ण चासोमा छ । तर खाडीको कतारका हकमा हाम्रो आर्थिक कूटनीतिको आधार भनेको म्यानपावरको माग र आपूर्तिमा मात्रै निर्भर छ । हो, उद्योग, व्यापारमा प्रत्यक्ष वैदेशिक लगानीका धेरै आधार छन् । तर स्थायित्व, शान्ति र सुरक्षाको अभावले अपेक्षित सफलता पाउन सकिएको छैन ।
कोइराला- राम्रो पुँजी भएकालाई नेपाल कसरी ल्याउने, कसरी घुमाउने भन्ने काइदा आर्थिक कूटनीति हो । एकपटक नर्थफेस कम्पनीका अधिकारीहरू यहाँ कार्यालय खोल्न आउने भएका थिए, तर यता आउने स्थिति भएन । यस्तै तराईको निजगढबाट काठमाडौं उपत्यकाको नक्खुसम्म ५५ मिनेटमा गाडी ल्याउने प्रस्ताव आएको थियो, यो योजना चार वर्षमा टुङ्गयाउनेगरी आग्रह आएको थियो । तर हामी आफैं प्रगतिका विरोधीझैं छौं । यसमा टुङ्गो लाग्नै सकिएन । हामीकहाँ 'गल्फ टुरिजम' पनि छ, जसमा एउटा कोरियालीले एक सातामा १२ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छ, तर हामी त्यसतर्फ लाग्दैनौं ।
खिाडी क्षेत्रमा देखिने अर्को समस्या भनेको घरेलु कामदार पनि पनि हो । लै·कि समानताको आजको युगमा यसमा प्रतिबन्ध लगाउने उपाय त त्यति स्वागतयोग्य नबन्ला । तर तपाईं खाडी क्षेत्रका राजदूतहरूको बुझाइ के छ ?
थापा- खाडीमा महिला कामदारलाई पठाउनुपरेमा 'सुरक्षात्मक उपाय अपनाई' पठाउनुपर्ने भनिएको छ, जुन प्रावधान आफैैंमा बुझिनसक्नुको छ । विशेषतः अनधिकृत म्यानपावर वा एजेन्टबाट भारतको बाटो हुँदै घरेलु कामदारहरू संयुक्त अरबसहितका खाडी मुलुकमा उडाइने गरेको छ । फेरि अर्कातिर खाडीको काममा आएका शतप्रतिशत घरेलु कामदार पीडित छन् भन्ने पनि गलत हो । यता आउनेमा ८० प्रतिशतको स्थिति राम्रै छ, २० प्रतिशतको भने अप्ठयारो छ । यसकारण ८० प्रतिशतलाई अप्ठयारोमा पर्ने काम पनि गर्नुभएन । बरु सम्बन्धित रोजगार गन्तव्य मुलुकका सरकारसँग घरेलु कामदारसम्बन्धी बेग्लै सम्झौता गरेर सेवा तथा सुरक्षाको बेग्लै रणनीति अवलम्बन गर्ने हो कि भन्ने पनि भइरहेको छ । हो, दूतावासले सम्बन्धित सरोकारवाला निकाय, कम्पनीलाई 'हाउसमेडका लागि भिसा जारी नगर' भनेमा सबै कुरा रोकिन्छ । तर यसो गर्नाले ८० प्रतिशत मारमा पर्छन् ।
अन्सारी- घरेलु कामदारका हकमा विकराल रूप देखेको छु । प्रतिबन्ध लगाएर समस्या झन् बढ्न सक्छ, यो ऐनले दिने कुरा पनि होइन । बरु यसलाई व्यवस्थित गर्नुपर्‍यो । काठमाडौंबाट जानेहरू अधिकांश सम्पन्न र सक्षम घरपरिवारबाट आएका र त्यस्तै घरपरिवारमा काममा जाने गर्छन् । बरु भारतको बाटो भएर जानेहरू बढी दुःखमा परेका छन्, जो यता पनि तल्लो स्तरको आर्थिक संचरनामा रहेका हुन्छन् । एउटै कुरा दूतावासबाट 'भिसा एटेस्टेसन' अनिवार्य हुनैपर्छ । एजेन्ट र तनुवा भिसाको जञ्जालमा कोही पनि पर्नुभएन । घरेलु कामदार काम गर्ने गन्तव्यबारे पूर्वजानकारी हुनुपर्छ । बरु राजदूत थापाले भनेझैं सम्बन्धित रोजगार गन्तव्य मुलुकका सरकारसँग घरेलु कामदारसम्बन्धी बेग्लै सम्झौता गर्ने कि ?
डा मिश्र- घरेलु कामदारसम्बन्धी समस्या कतारमा त्यति धेरै छैन । बरु संगठित निकायमा रोजगारी गर्दा यसको मूल्य पनि बढी हुन्छ । क्लिनिङ कम्पनी, होटल, रेष्टुराँ, अस्पताल, हवाइसेवामा छन्, नेपाली महिला । तर असुरक्षित तवरमा घरेलु कामदार पठाइने अवस्था भने विचारणीय छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

हतियारको त्रास कायमै

कान्तिपुर दैनिक
गाम -रोल्पा, फागुन ५
माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि गाम-९ की तिला बुढामगरलाई शान्तिसँग बाँच्न पाउने आस लागेको थियो । उनले सोचेजस्तो शान्ति भने आएन ।
माओवादीले हतियार छाडेलगत्तै अर्को समूहले गाउँमा हतियारको आतंक मच्चाएको छ । गाउँभर हतियार बोकेकाहरू देख्दा उनलाई शान्ति स्थापना हुनेमा शंका लाग्न थालेको छ ।
'हिजो पनि हतियारबाट दुःख भोग्यौं,' १० वर्षे सशस्त्र युद्धलाई नजिकबाट भोगेकी उनले भनिन्, 'हतियार बोकेका मानिसहरू मेरै घरछेउ हिँड्छन् । शान्ति आएका बेला यी हतियारधारी गाउँमा किन आएका होलान् ?'
रोल्पाबाटै सुरु भएको माओवादी सशस्त्र युद्ध रोकिएको लामो समय भइसकेको छ । हतियारको युद्ध गरेका तत्कालीन विद्रोही माओवादी सरकारमा पुगिसकेका छन् । हतियार थन्क्याएर उनीहरूले सरकारको कमान्ड सम्हालेका छन् । गाउँमा भने जनयुद्धकालको जस्तै हतियारधारीको जगजगी छ ।
केही अघि प्यूठानको स्याउलीबाङ प्रहरी चौकीमाथि आक्रमण गर्ने मंगोलियन रिभेन्ज गु्रपका सदस्यहरू हतियार लिएर हिँडिरहेका थिए । चन्दा उठाउने र सदस्य बनाउने गु्रपका सदस्यहरूले माओवादीविरुद्ध लडाइँ गर्न गाउँलेलाई तयार बन्न आह्वान गरिरहेका छन् ।
अहिले गामलगायतका गाउँमा सरकारले पठाएका सुरक्षाकर्मी छ्याप्छ्याप्ती छन् । प्रहरी चौकीमाथि आक्रमण गरेर हतियार लुटेका रिभेन्ज गु्रपका सदस्यलाई नियन्त्रणमा लिन उनीहरूलाई परिचालन गरिएको हो । हतियारसहित गाउँ पसेको सुरक्षाफौजले गाउँलेलाई नियन्त्रणमा लिने, सोधपुछका नाममा आफू बसेको स्थानमा बोलाउने गर्दै आएको छ । गाउँघरमा मात्र होइन खोलानाला र वनपाखामा पनि सुरक्षाकर्मीले सूक्ष्म खानतलास गरिरहेका छन् । 'हतियारधारीलाई नियन्त्रणमा लिइछाड्ने योजना छ ,(केन्द्रिय प्रहरी बिशेष कार्यदल) स्पेसल टास्क फोर्सका प्रमुख ललित चन्दले भने ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

माक्र्सवादको सिर्जनात्मक प्रयोगः

एमालेद्वारा माक्र्सवादको सिर्जनात्मक प्रयोगः चीन
कान्तिपुर संवाददाता

बुटवल, फागुन ५ - चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग भएको टिप्पणी गरेका छन् । माओको देशबाट एमाले महाधिवेशनलाई शुभकामना दिन बुटवल आएका कम्युनिस्ट नेताहरूले एमालेले माक्र्सवादलाई नेपालको यथार्थतामा मिलाएर मौलिक प्रयोग गरेको धारणा राखेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री लिउ होङ चाईले 'शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेले अपरिहार्य भूमिका खेलेकामा' प्रशंसा गरे । 'चिनियाँ र नेपाली जनताबीचको सुमधुर सम्बन्ध विकासका लागि यसले काम गरेको छ,' उनले भने, 'एमालेले यस क्षेत्रको शान्ति र स्थिरताका लागि योगदान गर्न सकोस् । हामीले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न चाहेका छौं ।' चाईको नेतृत्वमा पाँच सदस्य टोली यहाँ आएको हो । उनले क्षेत्रीय अखण्डता रक्षाका लागि नेपाली जनताले गर्ने प्रयासमा चीनको साथ रहने प्रतिबद्धता जनाए । नेपालीले आफ््ना मतभेद वार्ता र समझदारीबाट समाधान गर्न सक्ने उनको विश्वास छ ।
महाविधेशनमा १६ देशका ४५ प्रतिनिधि सहभागी रहेको पार्टी विदेश विभागले जनाएको छ । तिनमा भाकपा नेता जेबी वर्दन, भाकपा मालेका दीपंकर भट्टाचार्य, श्रीलंका, रुस, स्विडेन, स्पेनलगायतका प्रतिनिधि छन् ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

कुबेतमा डोल्मालाई आजीवन कारावास’

काठमाडौँ, फागुन ५
मृत्युदण्डबाट छुटकारा पाएकी डोल्मा शेर्पाले कुवेतको पुनरावेदन अदालतबाट आजीवन कारावास सजाय
पाएकी छन् । कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत सिन्धुपाल्चोककी डोल्मा सहकर्मी फिलिपिनो कामदारको हत्या अभियोगमा २० महिनादेखि थुनामा थिइन् । हत्या गरिएबापतको रकम -ब्लडमनी) स्वरूप १० हजार डलर पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजायबाट मुक्त भएकी डोल्मालाई डिसेम्बर तेस्रो साता अदालतले आजीवन कारावास सुनाएको हो । 'ढिलो गरी प्राप्त अदालती निर्णयअनुसार डोल्माले आजीवन कारावास पाएको थाहा भएको छ,' साउदी अरेबियाका लागि
नेपाली राजदूत हमिद अन्सारीले कान्तिपुरसँग भने ।
साउदी अरेबियास्थित दूतावासले आफूअन्तर्गतका कुवेत, बहराइन र ओमानका नेपालीको कानुनी मामिला हेर्न नियुक्त गरिएका कुवेती अटरनी हायद साद अल सुवाइकले डोल्माले आजीवन कारावास पाएको जानकारी राजदूत अन्सारीलाई हालै गराएका हुन् । 'अटरनी सुनुवाइका अनुसार कुवेती कानुनमा २५ वर्षको जेल सजायलाई आजीवन कारावास मानिएको छ' राजदूत अन्सारीले भने, 'तर मुस्लिम कानुनअनुसार हरेक वर्ष ३ महिनाबराबरको सजाय मिनाहा हुने भएकाले झन्डै साढे ६ वर्ष जति उनको सजाय कम हुने देखिएको छ ।' हाल काठमाडौंमा रहेका राजदूत अन्सारीले आफूले डोल्माको कारावास अवधि घटाउन सक्दो पहल गर्ने र कानुनी वा आममाफीका अवसरहरू पनि उपयोग गर्ने बताए । कुवेतस्थित एक नेपाली व्यवसायीले 'आममाफी अवसरहरू आइरहने भएकाले त्यसको उपयोग गर्न सकिने' बताए । 'इस्लामिक कानुनमा सार्वजनिक र व्यक्तिगत कानुनका दुई चरण हुन्छन्, ब्लडमनी स्वीकार भएकाले व्यक्तिगत कानुनमा डोल्मा मृत्युदण्डमुक्त भए पनि सार्वजनिक कानुनको जेल अवधि कायम रहनु स्वाभाविक हो,' उनले टेलिफोनमा भने ।
काठमाडौँमा रहेका डोल्माका पति तेन्जी शेर्पा भने श्रीमतीको जतिसक्दो चाँडो घरफिर्तीको आशामा छन् । 'ऊ चाँडो फिरेर आए ५ वर्षे छोरा कर्माको रेखदेख र घर सम्हाल्न सजिलो हुने थियो,' उनले भने ।
कर्माको पढाइमा तीन लाखको कोष डोल्माका ५ वर्षे छोरा कर्माको पढाइ तथा अन्य खर्चका लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिले ३ लाख रुपैयाँको कोष खडा गरेको छ । रुस, मस्कोस्थित समितिका सदस्य जीवा लामिछानेका अनुसार कर्माको बालिग उमेर नाघेपछि मात्रै उपयोगमा आउने गरी उक्त रकमको कोष स्थापना गरिएको हो । काठमाडौँस्थित एक निजी स्कुलमा आफन्तको सहयोगमा पढिरहेका कर्माले भविष्यमा रकमको ब्याज पढाइमा खर्च गर्न पाउने र यसमा अरू सहृदयीले पनि सहयोग थप्न पाउने समितिले जनाएको छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्