प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Friday, June 5, 2009

देशवासीका नाममा सम्बोधन - प्र.म. नेपाल




देशवासीका नाममा सम्बोधन



आदरणीय दिदीवहिनी तथा दाजुभाइहरू,

हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ । म आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु ।

म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद्भित्र गर्न चाहन्थेँ । तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ ।

सङ्घर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं । पहिलो चोटी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आˆनो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ । हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ । महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ । विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु । म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौं, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो । भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो ।

न्यायप्रेमी जनसमुदाय,
नयाँ युग निर्माणका निम्ति कीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु ।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ । सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो । राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो । निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो । म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ । म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु । मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन । तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्भिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्णर् आन्दोलनमा हामी सबै एक भएको कुरा सम्भिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्भिmन्छु । मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन् । मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ ।
संविधान निर्माण यतिबेला हामी सबैको सर्वाधिक महत्वको अभिभारा हो । जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभित्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ । तर, असम्भव छैन । राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन । सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न समर्थ हुनेछौँ । राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ । आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फबाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु । म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ ।

बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ । तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ । पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ । सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ । तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन् । नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु । शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ । सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनस्र्थापना र समायोजन मार्फत् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूर्वक बहन गर्नेछ ।

हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ । विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ ।
राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ । मध्यतराई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ । जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु । जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आˆना माग पूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन । वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ । सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ । तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन ।
विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
आदरणीय जनसमुदाय,
इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ । हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ । त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ । राज्यको अग्रगामी पुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो । तर, आˆनो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन । त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ । हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ ।
नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु । गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दीर्घजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु । राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ । त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ । हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूर्वक लाग्नेछ । श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
युवाहरू बेरोजगारीबाट आक्रान्त छन् । सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन् । मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन । दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ । महिला हिंसामा कमी आएको छैन । बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन् । शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन् । यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु । यी समस्या समाधान गर्नेतर्फ मैले पर्याप्त ध्यान केन्दि्रत गर्नेछु ।
लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो । यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो । यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ । सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ । यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो । आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ । त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ । यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ । म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु । यसका लागि सरकार आˆनो तर्फबाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु ।
लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन । लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र । एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन । न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ । लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो । यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन । सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो । यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ । नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ ।

नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन । तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ । पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आˆनो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं । राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन । राष्ट्रिय हितको संरक्षण र सम्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ । राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु । मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं । म नेपाली जनताको तर्फबाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ ।
अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ । मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ । आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ । जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामथ्र्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ । म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै । तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ । मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन । राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु । राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु । एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आˆनो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरू
म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ । त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन् । हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनुपर्छ । बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन । म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु । सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ । हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सन्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा -माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो । अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन । तसर्थ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु ।
अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन । मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने । यो सपना तपाई हामी सबैको साझा सपना हो । यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु । मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ ।
धन्यवाद ।
.........................
(माधवकुमार नेपाल)
प्रधानमन्त्री
१२ जेठ, २०६६

No comments:

Post a Comment