प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, June 23, 2009

(बाँकी अंश ) छात्रा ख्याती श्रेष्ठ, हत्याकाण्ड..

घटनाचक्रः
गोपाल र राधा श्रेष्ठ छोरीको उच्च शिक्षाका लागि विराटनगर छाडेर राजधानी छिरेका थिए । आफन्तका सहयोगमा उनीहरुले बालाजुस्थित प्रधानको घरमा डेरा पाए । डेरावालको नातामा श्रेष्ठ परिवारसँग प्रधान राम्रो हेलमेल राख्थे । गत वर्ष उनले बालाजुको घर बेचेपछि श्रेष्ठ परिवार अनामनगर डेरा सर् यो । त्यतिखेर उनले घरै किन्न प्रस्ताव गरे पनि श्रेष्ठ परिवारले मानेन ।ख्यातिको अपहरण हुनु केही दिनअघि प्रधानले फोन गरेर हालचाल सोधेका थिए । उनलाई असल व्यक्ति सोच्ने श्रेष्ठ दम्पतीले खाना खाने गरी आउने निम्तो दिए । सँगै बसेर खाना खाँदा उनीहरुले ख्यातिको पढाइको विषयमा छलफल गरे । ख्यातिको पाइलट बन्ने इच्छालाई लिएर प्रधानले सल्लाह पनि दिएका थिए । त्यतिबेलासम्म प्रधानको नियतका विषयमा श्रेष्ठ दम्पतीलाई पटक्कै शंका नभएको आफन्त बताउँछन् । जब घटनाक्रमले अपहरण प्रधानबाटै भएको पक्का भयो श्रेष्ठ दम्पतीले कोठामा राखेको एल्बमबाट त्यहाँ रहेको प्रधान र उनकी छोरीको तस्बिर भेटेनन् । 'उसले आफ्नो हुलिया लुकाउने योजनामा फोटो पनि लगेको रहेछ'- एक आफन्त भन्दै थिए ।
प्रहरीले दिएको जानकारीअनुसार जेठ २२ गते बिहान आठ बजे प्रधानले शाक्यलाई फोन गर्न लगाई पुतलीसडकमा डाके । बहाना थियो 'भाऊ म्यागाजिनको अन्तर्वार्ता । ख्यातिले अभिभावक लिएर आउँछु भन्दा 'लेडिजहरुले नै अन्तर्वार्ता लिने हो पर्दैन' भनियो । भाइ नाता लगाएको छिमेकी युवकसँग मोटरसाइकलमा लिफ्ट लिएर ख्याति पुतलीसडक पुगिन् । पुतलीसडकमा शाक्य कुरेर बसेकी थिइन् । मोटरसाइकल लिएर आएका प्रधानले शाक्यलाई परैबाट ख्याति चिनाए । ट्याक्सीमा ल्याउनका लागि ५ सय रुपैयाँको नोट पनि थमाए । शाक्यले ख्यातिलाई भेटिन् र टयाक्सीमा हालेर सिधैं प्रधानको डेरा नयाँबजार खुसिबु टाउन प्लानिङ पुर् याइन् । बाटोमै ख्यातिलाई घरबाट फोन आएको थियो । उनले अन्तर्वार्ताका लागि जाँदैछु भनिन् ।
प्रधान स्वयंले प्रहरीलाई दिएको बयानअनुसार अकस्मात एउटा कोठामा आफ्ना पूर्व घरबेटी भेटेपछि ख्याति अचम्भित भइन् । 'तपाईं पनि यहाँ ?'- उनले भनिन् । कुराकानीका क्रममा दुवैले कफी खाए । त्यसपछि शाक्य फर्किन् । प्रधानले कोठामा ख्याति एक्लै भएको अवस्थामा क्लोरोफर्म सुँघाएर बेहोस पारे । त्यसपछि ख्यातिकै मोबाइल प्रयोग गरी एसएमएसबाट उनी अपहरण भएको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागे । प्रधानले ख्यातिका बाबु गोपालसँग मोबाइल नहुँदा भाइ नाता पर्ने छिमेकीलाई एसएमएस पठाएका थिए ।श्रॆष्ठ परिवार आफन्तजनको सहयोगमा प्रहरीसँग पनि सम्पर्कमा थियो । यता प्रधानले देशका विभिन्न भागमा छु भन्दै पैसा लिएर आऊ भन्न थाले । कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली र कहिले दार्जिलिङ । श्रेष्ठ परिवारका आफन्त पैसा बोकी गएर त्यत्तिकै फर्के पनि ।
प्रधानले हिन्दी भाषामा एसएमएस पठाउँथे बंगाली लवजमा । त्यतिबेलै प्रधानप्रति शंका पलाएको थियो । यहाँ-त्यहाँ भनेर घुमाउँदा घुमाउँदै प्रधानले अन्ततः काँकडभिट्टामा डाके । उनले पैसा बोकेर श्रेष्ठ परिवारसँग लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका रामलाई पठाउन भने । रामलाई साथी लिएर ख्यातिकी आमा काँकडभिट्टा गइन् । काँकडभिट्टा ओर्लेर एउटा चिया पसल जाँदा त्यहाँ उनले प्रधानलाई चाउमिन अर्डर गरिरहेको देखिन् र पछि हटिन् । प्रधानले एसएमएस गरी पैसा सीमावर्ती भारतीय भूभाग पानीट्या‌ङ्कीमा पठाउन भने । राम पैसा लिएर गए । पैसा लिन बसेका प्रधानलाई देखेपछि राम छक्क परे । प्रधानले पैसासँगै रामलाई पनि नियन्त्रणमा लिन खोजेका थिए । तर होटल पुर् याइन लागिसकेको राम भागेर आउन सफल भए । प्रधानले त्यसपछि ख्यातिलाई काठमाडौंमा छाडिने जानकारी दिए । आत्तिएका रामले पैसा प्रधानलाई बुझाएको काठमाडौं फर्केपछि मात्र खोले । अपहरणकारी प्रधान नै भएको पुष्टि भएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । उनी काठमाडौंमा रहेको भेउ प्रहरीलाई थियो । रकम लिएर काठमाडौं पसेका प्रधान डेरामा नगई ससुरालीमा खाना खान जाँदा रहेछन् । अन्ततः उनलाई आइतबार प्रहरीले चावहिलदेखि पछ्याएर सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरेको स्रोत बताउँछ ।
पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ख्यातिको आधा शव ललितपुरको सैंबु क्षेत्रमा फेला पारेको हो । शवका केही भाग हातखुट्टा सोमबार चितवन नारायणगढ क्षेत्रमा फेला पारी राजधानी ल्याउने तयारी भइरहेको थियो । उनले टाउकोको भाग कहाँ छ भनेर अझै प्रहरीलाई नभनेको स्रोत बताउँछ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रधानले अपहरण गरेकै दिन वा भोलिपल्टसम्मै ख्यातिको ज्यान लिएका हुन् । हत्यापछि शरीर टुक्र्याएर अपराध लुकाउने दुस्चेष्टा गर्न उनले निकै चलाखी गरेको देखिने प्रहरी बताउँछ ।
जटिल चरित्र मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नरदेवी मूल घर भन्ने प्रधानले पछिल्लो समय खुसिबु टाउन प्लानिङमा डेरा गर्दै आएका थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजबाट बिएस्सी गरेका थिए । उनको साथबाट भारतको रासन कार्ड पनि भेटिएको छ ।

नजिकबाट चिन्नेहरुका अनुसार क्यासिनो गएर पैसा सक्नु उनको कुलत थियो । उनले यसै कारण राजधानीमा बनाएको घर पनि बेचेको बताइन्छ । उनले पछिल्लो समय आफ्ना १० र ५ वर्षका दुई छोरीका नाममा ससुराली पक्षले बैंकमा राखेको २० लाख रुपैयाँ समेत जुवामै सकेको आफन्त बताउँछन् । पत्नीले पठाएको रकम पनि त्यसैगरी मासेको बताइन्छ । क्यानडा जाने मिति नजिकिएको र आफ्नो कुलत धान्न उनी पैसाकै लोभमा अपराधमा लागेको बताउने पनि थिए ।प्रहरीका अनुसार प्रधानबाट घटनाबारे सम्पूर्ण कुरा बुझ्न बाँकी नै छ । उनी जटिल प्रकृतिको भएको र हरेक कुरालाई छिनमै मोड्न सक्ने खुबी राख्ने बताइन्छ । फिरौती लिने क्रममा उनले यही चरित्र देखाएका थिए । प्रधानले आइतबार हिरासतमै ब्लड प्रेसरको औषधी अत्यधिक मात्रामा खाएकाले अस्वस्थ भएपछि तत्काल वीरेन्द्र प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रहरीले उनलाई गंगालाल ह्रदय केन्द्र लगेको थियो । उनले आफूलाई सार्वजनिक नगर्न र सकेसम्म छिटो कैद सजायका लागि पठाउनसमेत भनिरहेको स्रोत बताउँछ ।
"अपराधको सीमा नदेख्ने उ अझै सेफसाइड खोज्दैछ"- एक प्रहरी अधिकृतले भने ।
उनले घटनामा क्यासिनोमा चिनेका केही व्यक्तिको साथ लिएको पनि प्रहरीलाई बताएका छन् । तर प्रहरीले घटनास्थलमा अन्य मानिसको आवतजावत नभएको देखिएको बताएको छ ।
उनीसँगै पक्राउ परेकी काठमाडौं महानगरपालिका-१६ की मेरिना शाक्य भने एसएलसी दिएर बागबजारको एक इन्स्टिच्युटमा ब्रिज कोर्स गरिरहेकी छात्रा हुन् । उनी पूर्व शिक्षक प्रधानको नियमित सम्पर्कमा रहेको देखिने प्रहरी बताउँछ ।
शोकमग्न परिवार
अनामनगरको भित्री भागमा सेतो घरको दोस्रो तला । गोपाल र राधा अर्धचेत भएर लडिरहेका छन् । कोठाका चारै भित्तामा मुस्कान छरिरहेका छन् ख्यातिका तस्बिरहरु, जुन अब सम्झना मात्रै छन् ।
एक्लो सन्तानको पढाइमा राम्रो भविष्य देखेर गोपाल र राधा राजधानी छिरेका थिए । एसएलसीमा डिस्टिङ्सन् आएपछि छोरीलाई राम्रो कलेज पढाउने र उसको पाइलट बन्ने साकार बनाउने उनीरुको सपना थियो ।
सहानुभूतिका लागि जम्मा भएका आफन्तका अनुसार श्रेष्ठ दम्पती छोरी संसारमा नरहेको पत्याउन अझै सकिरहेका छैनन् । शव पूरै जम्मा नभएसम्म यसै भन्न नसकिने भनेर आश व्यक्त गर्ने पनि त्यहाँ थिए ।
विराटनगरमा राम्रो सामाजिक प्रभाव भएका गोपाल नामैअनुसार सुधा स्वभावका भएको नातेदार पुरुषोत्तम अमात्य बताउँछन् । राधा उदार-मनका लागि सबैकी प्रिय । अनि ठ्याक्कै बाबुआमाकै स्वभाव आउने ख्याति ।
"मेरो बाबुले उसलाई काली भनेर जिस्क्याउँदा म ठूली भइसकें त्यसो नभन भन्थी, साह्रै प्यारी थिई," आफन्त ज्ञानराजा श्रेष्ठ भावुक हुँदै भन्दै थिए- "ऊ अस्पतालमा जन्मनेबित्तिकै मैले काखमा राखेको हुँ । सानोमा खाना खान नमान्दा पनि ज्ञानुकाका आयो भनेपछि खुरुक्क मान्थी ।"
बाल्यकालका साथी कांग्रेस नेता शेखर कोइराला सोमबार दिउँसो सँगै आएर बसेपछि गोपाल पनि उठेर तकियाको आडमा बसे । दुवैले एकअर्कालाई हेरिमात्र रहे, केही बोल्न सकेनन् ।
पक्राउ परेका श्रेष्ठ ख्यातिका ट्युसन पढाउने शिक्षक हुन्। उनले प्रहरीसमक्ष हत्या स्वीकारेको वयान दिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको सैबुस्थित बाटोमुनि खोल्सामा उनको मृत शरीर टाउको र कम्मरमुनिको भाग काटिएको अवस्थामा आइतबार दिउँसो तीन बजे फेला पारेको थियो।
अपहरणको तीन दिनपछि कालिमाटीस्थित उनी अध्ययनरत जुविलियन कलेज एन्ड रिसर्च सेन्टरमा जेठ २५ गते १२ कक्षाको रसायनशास्त्रको व्यावहारिक परीक्षा थियो। ख्याति परीक्षामा अनुपस्थित भएपछि कलेजले अविभावकलाई फोन गरेर उनको अनुपस्थितिबारे जानकारी गराएको थियो। पिता गोपाल श्रेष्ठले छोरी अपरहणमा परेको जानकारी कलेजका अध्यक्ष मधुसुदन रन्जितलाई गराएका थिए। रन्जितका अनुसार पछिल्लोपल्ट शनिबारमात्रै पिता श्रेष्ठले फिरौती रकम बुझाएको बताएका थिए।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment