प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, February 17, 2009

कुबेतमा डोल्मालाई आजीवन कारावास’

काठमाडौँ, फागुन ५
मृत्युदण्डबाट छुटकारा पाएकी डोल्मा शेर्पाले कुवेतको पुनरावेदन अदालतबाट आजीवन कारावास सजाय
पाएकी छन् । कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत सिन्धुपाल्चोककी डोल्मा सहकर्मी फिलिपिनो कामदारको हत्या अभियोगमा २० महिनादेखि थुनामा थिइन् । हत्या गरिएबापतको रकम -ब्लडमनी) स्वरूप १० हजार डलर पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजायबाट मुक्त भएकी डोल्मालाई डिसेम्बर तेस्रो साता अदालतले आजीवन कारावास सुनाएको हो । 'ढिलो गरी प्राप्त अदालती निर्णयअनुसार डोल्माले आजीवन कारावास पाएको थाहा भएको छ,' साउदी अरेबियाका लागि
नेपाली राजदूत हमिद अन्सारीले कान्तिपुरसँग भने ।
साउदी अरेबियास्थित दूतावासले आफूअन्तर्गतका कुवेत, बहराइन र ओमानका नेपालीको कानुनी मामिला हेर्न नियुक्त गरिएका कुवेती अटरनी हायद साद अल सुवाइकले डोल्माले आजीवन कारावास पाएको जानकारी राजदूत अन्सारीलाई हालै गराएका हुन् । 'अटरनी सुनुवाइका अनुसार कुवेती कानुनमा २५ वर्षको जेल सजायलाई आजीवन कारावास मानिएको छ' राजदूत अन्सारीले भने, 'तर मुस्लिम कानुनअनुसार हरेक वर्ष ३ महिनाबराबरको सजाय मिनाहा हुने भएकाले झन्डै साढे ६ वर्ष जति उनको सजाय कम हुने देखिएको छ ।' हाल काठमाडौंमा रहेका राजदूत अन्सारीले आफूले डोल्माको कारावास अवधि घटाउन सक्दो पहल गर्ने र कानुनी वा आममाफीका अवसरहरू पनि उपयोग गर्ने बताए । कुवेतस्थित एक नेपाली व्यवसायीले 'आममाफी अवसरहरू आइरहने भएकाले त्यसको उपयोग गर्न सकिने' बताए । 'इस्लामिक कानुनमा सार्वजनिक र व्यक्तिगत कानुनका दुई चरण हुन्छन्, ब्लडमनी स्वीकार भएकाले व्यक्तिगत कानुनमा डोल्मा मृत्युदण्डमुक्त भए पनि सार्वजनिक कानुनको जेल अवधि कायम रहनु स्वाभाविक हो,' उनले टेलिफोनमा भने ।
काठमाडौँमा रहेका डोल्माका पति तेन्जी शेर्पा भने श्रीमतीको जतिसक्दो चाँडो घरफिर्तीको आशामा छन् । 'ऊ चाँडो फिरेर आए ५ वर्षे छोरा कर्माको रेखदेख र घर सम्हाल्न सजिलो हुने थियो,' उनले भने ।
कर्माको पढाइमा तीन लाखको कोष डोल्माका ५ वर्षे छोरा कर्माको पढाइ तथा अन्य खर्चका लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिले ३ लाख रुपैयाँको कोष खडा गरेको छ । रुस, मस्कोस्थित समितिका सदस्य जीवा लामिछानेका अनुसार कर्माको बालिग उमेर नाघेपछि मात्रै उपयोगमा आउने गरी उक्त रकमको कोष स्थापना गरिएको हो । काठमाडौँस्थित एक निजी स्कुलमा आफन्तको सहयोगमा पढिरहेका कर्माले भविष्यमा रकमको ब्याज पढाइमा खर्च गर्न पाउने र यसमा अरू सहृदयीले पनि सहयोग थप्न पाउने समितिले जनाएको छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment