प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 17, 2009

गतिमतिछाडाहरूलाई विनम्र अनुरोध

हामी नेपाली

गतिमतिछाडाहरूलाई विनम्र अनुरोध


ाम गर्छु भन्नेको मति र काम बिगार्न खोज्नेको गति ठ्याक्कै मिल्दोजुल्दो छ । यी गतिमतिछाडाहरू हाम्रै समाज र देशका अंग हुन्, त्यसैले यिनीहरूबिनाको समाज सम्भव नै हुँदैन । तर, यिनीहरूसहितको समाज यति जटिल र कष्टप्रद बनिसक्यो कि मानिसहरूले पीडा नै पचाउन थालिसके । बोक्न पनि नसकिने, टोक्न पनि नसकिने भनेको यही होला ।
पहिले मतिछाडा माओवादीको कुरा गरौँ । माओवादीहरूले गर्न खोज्दैछन् । गर्नै नचाहेका होइनन् । तर, कसरी गर्ने भन्ने प्रश्नले ठूलो महत्त्व राख्छ । जुन कुराहरू प्रक्रियागत ढंगबाट गर्न खोज्दैछन्, तिनको प्रशंसा गर्नुपर्छ, केही कुरा कहिलेकाहीँ बिगार्छन् र सच्याउँछन्, त्यसलाई पनि सकारात्मक नै मान्नुपर्छ तर धेरै कुरा धेरैचोटि बिगार्न थालेपछि सशंकित हुनैपर्ने हुन्छ । माओवादी विचारक बाबुराम भट्टराईका हालैका दृष्टिकोण पढ्नेहरूलाई थाहा हुनुपर्छ, क्रान्ति सम्पन्न गर्ने माओवादीहरूको एउटा रणनीति भद्रगोल सिर्जना गर्नु हो । उनी भन्छन्, "भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ । भद्रगोल ल्याउने नै हो हामीले ।" अनि, सोही पत्रिकाको अर्को अंकमा उनी भन्छन्, "अहिले हामी केन्द्रीय सत्ता कब्जा गर्ने बाटोमा अघि बढ्दैछौँ ।" एकातिर दलको विचारकको त्यस्तो धम्की यथावत् छ भने अर्कातिर दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चाला के हो-के हो, चिन्तैलाग्दो भइसक्यो ।
पशुपतिको मूलभट्टका बारेको विवाद सेलाउन नपाउँदै उनी राष्ट्रका नाममा अर्थहीन सम्बोधन गर्न टेलिभिजनमा झुल्किए । त्यति कमजोर भाषाशैलीमा, अत्यन्त छरपष्ट, सिलसिलाहीन र कैयौँ बेतुकका कुरा समावेश गरएिको राष्ट्रका नाममा सरकारप्रमुखबाट भएको सम्बोधन यस स्तम्भकारले पहिले सुनेको छैन । राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनीले हरेक कर्मचारीलाई खाजाका लागि एक घन्टा छुट्याइने प्रधानमन्त्रीको भनाइमाथि टिप्पणी गर्दै 'खाजामा एउटा अन्डा राखिनेछ पनि भनेको भए हुन्थ्यो नि !' भन्दै व्यंग्य गर्न सम्बोधनले प्रशस्त आधारहरू दिएको छ । प्रधानमन्त्रीको सम्बोधनबाट उनीसँग राम्रो भाषण लेख्न जान्ने एक जना सहयोगी पनि रहेनछन् भन्ने प्रस्ट हुन्छ । राम्रो सहयोगी छान्न पनि राम्रो बुद्धि चाहिन्छ । प्रचण्ड बुद्धि नभएका व्यक्ति होइनन् तर उनले सशस्त्रकाल र प्रधानमन्त्रीत्वकालमा आवश्यक दुई भिन्न प्रकृतिका बुद्धिहरूबीचको अन्तरलाई भने अझै बुझिसकेका छैनन् भन्ने प्रस्ट हुन्छ । त्यसैगरी, जुन ढंगले, जस्तो विषयमा र जुन समयमा उनले अध्यादेश जारी गर्न खोज्दैछन्, त्यसले पनि सरकार-नेतृत्वका लागि आवश्यक सुझबुझको उनमा तीव्र अभाव रहेको देखिन्छ । एकातिर दलका एक जना वरष्िठ नेता धम्की दिने, अर्कातिर सोही दलका नेता र प्रधानमन्त्री कहिले संवैधानिक प्रक्रिया, कहिले गठबन्धन सरकारको जटिलता र कहिले सांस्कृतिक संवेदनशीलतामाथि नै प्रहार गर्ने ।
बाबुराम भट्टराईको माथि उद्धृत विचारलाई आधार मान्ने हो भने यो माओवादीहरूको भद्रगोलको बीचबाट क्रान्ति सफल पारेर राज्यसत्ता कब्जा गर्ने रणनीति हुनसक्छ । यदि 'राज्यसत्ता कब्जा' भन्ने शब्दावलीबाट पूर्ण बहुमतका साथ सरकारको नेतृत्व गर्ने कुरालाई मात्र संकेत गर्न खोजेको हो भने भिन्दै कुरा । त्यसका लागि माओवादीहरूले अहिले सेनालाई चलाउने, संस्कृति र परम्परामा आँच पुर्याउने, अति क्रान्तिकारी भाषण गर्ने, आमूल परविर्तनकारी कदमहरू चाल्न खोज्ने आदि इत्यादि केही गर्नैपर्दैन । बढो संयमका साथ थोरै राम्रा कामहरू मात्र गरे पुग्छ । त्यति गरेर माओवादीहरूले देशलाई नयाँ संविधान लेखनमार्फत निर्वाचनसम्म डोर्याउन सके भने, सो निर्वाचनमा तिनले सहजै बहुमत हासिल गर्नेछन् किनभने अन्य प्रमुख दलहरूको स्िथति तिनको विगतले गर्दा अत्यन्तै नाजुक छ । तर, 'राज्यसत्ता कब्जा'लाई साम्यवादी अर्थमा प्रयोग गर्न खोजिएको हो भनेचाहिँ माओवादीहरू छिट्टै नराम्रोसँग पछारनिे छन् र तिनले देशलाई पनि खाल्डोमा हाल्नेछन् । तिनले देशलाई आधाआधी खाल्डोमा त हालिसके- हिंसा, जातीयता र क्षेत्रीयताको चक्रमा फसाएर । त्यसबाट देशलाई निकाल्नै पहिले त महाभारत हुनेछ । त्यसमा पनि सत्ता कब्जाका कुरा गरे भने देश पूरै खाल्डोमा जाकिनेछ । अनि, राजनीतिको रंगमञ्चमा सेनाको भूमिका प्रधान हुनजान्छ र पूर्वराजाको पुनःस्थापनालाई असम्भव नमाने हुन्छ ।
एकातिर माओवादीहरू यसरी मतिछाडा हुँदै गइरहेका छन् भने अर्कातिर विपक्षी नेपाली कांग्रेस उत्तिकै गतिछाडा भएर गइरहेको छ । तिनका नेता गिरजिाप्रसाद कोइरालाले हरेकपल्ट प्रजातन्त्रको दुहाई दिँदा प्रजातन्त्रमाथि व्यंग्य गरेझैँ प्रतीत हुन्छ । देशमा प्रजातन्त्रको यो दुर्गति हुनुमा नेपाली नेताहरूमा उनीजति दोषी सम्भवतः कोही छैन होला । देश विकास गर्न होइन, राजनीतिमा आफू हावी हुन र आफन्तहरूलाई हावी गराउन मात्र कोइरालालाई प्रजातन्त्र चाहिएको छ । नत्र, नेपाली कांग्रेसको अनि समग्र प्रजातन्त्रको यस्तो दुर्गति नै हुने थिएन । जनताले संविधानसभाको चुनावमा 'प्रजातन्त्रवादी' कांग्रेसभन्दा 'अधिनायकवादी' माओवादीलाई धेरै भोट त्यसै दिएका होइनन् । कांग्रेसको पारामा परविर्तन नआउने हो भने, प्रजातन्त्र र कांग्रेस दुवैको पतन निश्चित छ । कांग्रेसका नेताहरूले बुद्धि पुर्याउने हो भने अहिलेको समयलाई अध्यादेश, घरजग्गा फिर्ती र वाईसीएल भंगजस्ता विषयलाई निहुँ बनाएर माओवादीको सरकार ढाल्ने प्रयासमा भन्दा आफ्नो दललाई संरचनागत रूपमै सुधार गर्न, दलभित्रको प्रजातन्त्रलाई स्थापित गर्न र दलको पहुँच फैलाउने काममा लगाउनु धेरै बेस हुनेछ । नयाँ संविधान लेखन र नयाँ निर्वाचनको परपि्रेक्ष्यमा, अध्यादेशको घोषणा, घरजग्गा फिर्ती र वाईसीएल भंग आदि अत्यन्त गौण विषयहरू हुन् । माओवादीले भोलि 'कू' नै गर्न खोजे भने मात्र तिनको सरकार ढाल्नैपर्ने हुन्छ । तर, अहिले झीनामसिना विषयमा कांग्रेस र -त्यस अर्थमा- एमाले अल्भिmयो भने न त नयाँ संविधान लेखिन्छ, न त प्रजातन्त्र र गणतन्त्रकै रक्षा हुन्छ ।
माओवादी, कांग्रेस, एमाले आदि सबैले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने भनेको अब आउने निर्वाचनमा हो । त्यतिञ्जेलसम्म चाहिँ सबैले सो निर्वाचनमा विजय हासिल गर्न कसरी जनताको मन जित्ने भनेर तयारी गर्नु बुद्धिमानी हुनेछ । अहिले नै कसैले बढी जान्ने भएर सत्ता कब्जा गर्ने या सरकार ढाल्ने खेलमा लाग्यो भने त्यो दलहरू र देश दुवैका लागि प्रत्युत्पादक हुनेछ ।
amrit_pnd@yahoo.com
from israel

No comments:

Post a Comment