प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 17, 2009

के हो स्वाइन फ्लु ?

के हो स्वाइन फ्लु ?
डा सुशील देवकोटा
त्रासको रूपमा देखापरेको स्वाइन फ्लुको अर्को नाम मेक्सिकन फ्लु, स्पानिस फ्लु वा स्वाइन इन्फ्लुएन्जा पनि हो । स्वाइन फ्लु भनेको टाइप ए इन्फ्लुएन्जा भाइरसबाट सुँगुरको श्वास-प्रश्वास प्रणालीमा लाग्ने रोग हो । यसले सुँगुरमा इन्फ्लुएन्जा संक्रमण गराउँछ । स्वाइन फ्लु भाइरसले सुँगुरहरूमा मृत्युभन्दा रोगका लक्षण बढी देखिन्छन् ।
स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरि सर्नसक्ने भए पनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । स्वाइन फ्लु भाइरस -ए एच १ एन १ नामक इन्फ्लुएन्जा भाइरस) सर्वप्रथम १९३० मा सुँगुरमा पत्ता लागेको हो ।
यत्ति धेरै डर किन ?
पहिलोपटक स्वाइन फ्लुको महामारी सन् १९१८ तिर देखिएको हो । महामारीले कतिजनाको मृत्यु भयो, यकिन छैन । त्यतिबेला रोगीमध्ये २.५ देखि ५ प्रतिशतको मृत्यु भएको अनुमान गरिन्छ । त्यतिखेरको विश्व जनसंख्याको करिब २५ प्रतिशत मानिस यो रोगबाट ग्रसित भएका थिए । महामारीले पाँचदेखि दस करोडको ज्यान लिएको अनुमान गरिन्छ ।
सन् १९५७ मा एसियाबाट फैलिएको महामारीले करिब चार करोड पचास लाख अमेरिकीलाई संक्रमित पारेको थियो । त्यसमध्ये करिब सत्तरी हजार मरेका थिए । ११ वर्षपछि सन् १९६८ देखि १९७९ सम्ममा हङकङबाट फैलिएको महामारीले पुनः करिब पाँच करोड अमेरिकीलाई संक्रमित पारे पनि करिब तेत्तीस हजारको मात्र ज्यान गएको थियो । यसैगरी सन् १९७६ मा एक हप्ताभित्र पाँच सय सैनिक संक्रमित भएका थिए ।
स्वाइन फ्लुका लक्षण
मानिसमा स्वाइन फ्लुको लक्षण अन्य इन्फ्लुएन्जाजस्तै देखिनुपर्ने हो । ज्वरो आउने, जीउ दुख्ने, खान मन नलाग्ने र खोकी वा हाच्छिउँ आउने जस्ता लक्षण देखापर्छन् । यसैगरी कतिपयमा रुघा लाग्ने, घाँटी दुख्ने, पखाला चल्ने वा वान्ता हुने जस्ता लक्षण पनि देखापर्न सक्छन् ।
ज्वरो आउनु
मांसपेशी दुख्नु
थकान महसुस हुनु
खोकी लाग्नु
टाउको दुख्नु
घाँटी दुख्नु
नाकबाट सिँगान निरन्तर बग्नु
वाकवाक लाग्नु
वान्ता हुनु
पखाला चल्नु
खान मन नलाग्नु आदि ।
जोखिम वर्ग
स्वाइन फ्लुले बढी प्रभावित पार्नसक्ने वर्गको रूमा ६५ वा सोभन्दा बढी उमेर समूहका व्यक्ति, दीर्घकालीन रोगका पीडित -मधुमेह, दम, मुटुको रोग लागेर कमजोर भएका बिरामी), गर्भवती महिला तथा नवजात शिशुहरू । तर विगतमा देखिएको स्वाइन फ्लु महामारीको क्रममा स्वस्थ युवाहरू पनि उत्तिकै मात्रामा प्रभावित भएको देखिएको छ ।
स्वाइन फ्लुका जोखिम
स्वाइन फ्लुका माथि उल्लिखित सामान्य लक्षण देखिने अवस्थामा नै यसको प्रभावकारी उपचार हुन सकेन भने यी लक्षणले निमोनिया, ब्रोङकाइटिस, पिनास, कानको संक्रमण गराउन र कतिपय अवस्थामा मृत्युसमेत हुनसक्छ ।
कसरी फैलिन्छ ?
अन्य फ्लुजस्तै स्वाइन पनि निम्न तरिकाले फैलन सक्छ ः
खोक्दा
हाच्छिउँ गर्दा
चुम्बन गर्दा
संक्रमित सामान छुँदा
नाक, आँखा र मुखलाई संक्रमित हातले छुँदा
तर स्वाइन फ्लु सुँगुरको मासु -पोर्क) खाएको आधारमा भने सर्दैन ।
स्वाइन फ्लुको उपचार
स्वाइन फ्लुको खोप
इन्फ्लुएन्जा खोपले इन्फ्लुएन्जा विरुद्ध गर्ने प्रतिरक्षा रोग गराउने भाइरस र उक्त खोपमा रहेको भाइरसको बीचमा कत्तिको समानता छ भन्ने कुरामा निर्भर हुने भएकोले एच ३, एन २ नाम गरेको भाइरस रहने इन्फ्लुएन्जा विरुद्धको खोपले प्रतिक्रियारहित एच ३ एन २ एचआईभी वर्गको भाइरसलाई प्रतिरोध गर्न सफल नहुने अनुमान गरिएको छ । अमेरिकी अधिकारीले अमेरिकामा देखिएका भाइरस चार प्रकारका भाइरसका जेनेटिक तत्त्वबाट बनेको बताएका छन्- नर्थ अमेरिकन स्वाइन इन्फ्लुएन्जा, नर्थ अमेरिकन एभिएन इन्फ्लुएन्जा, हयुमन इन्फ्लुएन्जा ए भाइरसको एच १ एन १ प्रजाति तथा स्वाइन इन्फ्लुएन्जा भाइरस हुन् ।
बच्न के गर्ने
स्वाइन फ्लुबाट बच्न विभिन्न उपाय अवलम्बन
गर्न सकिन्छ ः
आफूले खोक्दा वा हाच्छिउँ गर्दा टिस्यु पेपरले मुख छोप्ने र खोकिसकेपछि उक्त पेपरलाई सुरक्षित स्थानमा विसर्जन गर्ने ।
आफ्नो हात तथा मुख पटक-पटक धोइरहने, विशेषतः खोक्ने वा हाच्छिउँ गरेपछि ।
हातले आँखा, नाक वा मुखलाई पटक-पटक नछुने, किनकि यो भाइरस सर्ने प्रमुख माध्यम यही हो ।
रोगी व्यक्तिको घनिष्ट सम्पर्कबाट सकेसम्म बच्ने ।
यो रोग व्यक्तिबाट व्यक्तिमा सर्ने भएकोले कसैलाई यो रोगको लक्षण देखिएको छ भने उक्त व्यक्तिले अरूसँग सम्पर्क गर्नु हुँदैन ।
तर फ्लु हुनसक्ने डरले आत्तिनु पर्दैन, किनकि तनावले रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्छ । सामान्य फ्लुले कसैलाई पनि मृत्युको मुखमा पुर्याउँदैन । प्रायः बिरामीमा रोगका लक्षण केही समय देखिएर यो रोग आफैं निको हुनसक्छ । सामान्य शारीरिक व्यायाम, योगा र ध्यान तथा स्वस्थ खानेकुराको सेवन गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । यसैकारण स्वाइन फ्लुको डरबाट भाग्नुभन्दा पनि आफ्नो शरीरलाई कसरी स्वस्थ राख्ने भन्नेतर्फ ध्यान केन्दि्रत गर्नुपर्छ ।

Copy write from kantipur daily
collect:-Amrit Israel(amrit_pnd@yahoo.com

No comments:

Post a Comment