प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 17, 2009

यी महिलाले राजतन्त्र बचाउने रे, गफै बढी!

यी महिलाले राजतन्त्र बचाउने रे, गफै बढी!


राजतन्त्र इतिहासका पानामा मात्र सीमित भएपछि सिंगापुरतिर हानिएका पूर्व युवराज पारस त्यहाँको धेर बिक्ने ट्याब्ल्वाइडमध्ये एक द न्यु पेपरका लागि तीन तीन दिनसम्म मसला बने। सुरुको दिन उनले हत्याकाण्डको बारेमा नयाँ खुलासा गरे- हतियारसम्बन्धी कुरालाई लिएर। दोस्रो दिन हत्याकाण्डको विभत्स विवरण छापियो। दुई दिन त्यसरी उनको कथा बेचिसकेपछि तेस्रो दिन पनि त्यसैलाई निरन्तर गर्नका लागि सिंगापुरे सूत्र भेट्टाएर पत्रिकाले छापेको रहेछ। पत्रिकाका अनुसार यी महिलाको नाम एन्जेला चेङ हो। पारसलाई सिंगापुरमा रहन, बस्न सहयोग गर्ने महिला यिनै हुन्। पत्रिकाले यी महिला कै एक फोनका कारण ज्ञानेन्द्रले सत्ता छाडेको, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई नोबेल पुरस्कार दिनुपर्छ भनेर भनेको अनि अब राजतन्त्र बचाउन यी महिलाले प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव लिएर नेपाल आउन लागेको जस्ता कुरा पनि छापेको छ, जुन हास्यास्पद लाग्छ। पत्रिकाले राखेको शीर्षक नै हेर्नुस् न- S’porean helped this prince, but can she helps his kingdom ?


पत्रिकाले चेङ कै कारण ज्ञानेन्द्रले सत्ता छाडे झैँ गरी ठूल्ठूला गफ दिएको छ- सन् २००६ मा दोस्रो जनआन्दोलन हुँदा उनले फोन गरेकी रे कोइरालालाई राजालाई भेट भनेर। अनि कोइरालाले भेटे रे। अनि ज्ञानेन्द्र त्यो भेटमा गद्दी छाड्न तयार भएको रे।
१० वर्षअघि नेपालको तत्कालीन राजपरिवारसँग उनको सम्पर्क भएको रे। उनले अधिराजकुमारी शान्तिलाई चन्दा उठाउन सहायता गरेको रे। राजपरिवारसित उनको अझै पनि गाढा सम्बन्ध छ रे। त्यसैले पारस सिंगापुरमा बस्न आउने भएपछि उनैले सबै कुरा घरदेखि सबै कुरा मिलाइदिएको रे।
४५ वर्षकी चेङ अब तिहारमा नेपाल आउँदैछिन् रे। यस पटक उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर छ वर्षका पारसका छोरा ह्रदयेन्द्रलाई राजा बनाउन प्रस्ताव राख्छिन् रे।
अझै हाँसउठ्दो त उनले त्यसका लागि प्रयोग गर्ने भनी बार्गेनिङ चिपको बारेमा कुरा छ। पत्रिकामा छापिए अनुसार नेपाली र मन्दारिन भाषा स्पष्ट बोल्न सक्ने उनले चीन र जापान सरकारबाट विभिन्न सहयोग दिलाइदिने विश्वास दिलाउँछिन् रे।
पत्रिकाको लेखको अन्त्यमा उनले भनेकी छिन्- मैले विगत २८ वर्षमा नेपालका लागि धेरै महत्त्वपूर्ण काम गरेँ। अब फेरि एउटा काम गर्ने बेला आएको छ। रमाइलो कुरा ! नेपालीहरुलाई थाहै नहुने गरी धेरै काम गरिछिन् यिनले। सिंगापुरेहरुलाई गफ दिन त सजिलै भो नि !
कोइरालासितको फोटो पनि छापेको छ पत्रिकाले। थप गफ पत्रिका कै वेबसाइटमा गएर पढ्न यहाँ क्लिक गर्नुस्। अपडेटः अहिले पत्रिकाको वेब संस्करणबाट यो लेख हटाइएको छ। यो लेख अचानक हटाउनुले यो पत्रिकाले पैसाका लागि हावा तालले एक सामान्य महिलाको समाचारलाई बढाइचढाइ प्रकाशन गरेको त हैन भन्ने आशंकालाई बल प्रदान गरेको छ।


Collect From webside:-amrit_pnd@yahoo.com

No comments:

Post a Comment