प्रबासमा नेपाली भाषालाइ माया गर्ने ब्लग मध्ये एक जुन इजरायली प्रबासबाट प्रस्तुत छ.....ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Tuesday, May 12, 2009

बेरोजगारको लगत लिन सुरु,सबै अञ्चलमा सूचना केन्द्र

दिनेश रेग्मी
काठमाडौं,
श्रम विभागले देशका १४ स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगार तथ्यांक संकलन सुरु गरेको छ । केन्द्र स्थापनाबारे प्रचार नहुँदा अपेक्षित तथ्यांक संकलन भने भएको छैन ।
प्रत्येक अञ्चलमा गरी १४ वटा सूचना केन्द्र स्थापना भई काम थालिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
'सबै केन्द्रमा काम भइरहेको छ' मन्त्रालयमा प्रवक्ता हरिदत्त पाण्डेयले कान्तिपुरलाई भने, 'बेरोजगारका लागि कस्तो कार्यक्रम र नीति बनाउने भनेर तथ्यांक लिन थालिएको हो ।'
पछिल्लो पटक सूचना केन्द्र जुम्लामा वैशाख २१ र उदयपुरमा ६ गते स्थापना भएका छन् । त्यसअघि झापा, विराटनगर, जनकपुर, हेटांैडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दाङ र पर्वतमा खोलिएका थिए ।
नयाँ खोलिएका जुम्ला र उदयपुरका सूचना केन्द्र छुट्टै भवनमा सञ्चालन छन् । महेन्द्रनगर, दाङ र पर्वतका सूचना केन्द्र, व्यावसायिक सीप विकास तालिम केन्द्र र बाँकी ९ वटा सूचना केन्द्र श्रम कार्यालयमा सञ्चालन भएका छन् ।
श्रम विभागका निमित्त महानिर्देशक अमलकिरण ढकालले बेरोजगारहरूको लगत संकलन गरी वेबसाइटमा राख्ने तयारी गरेको बताए । 'बेरोजगारको अवस्था पहिचान भयो भने कुनै प्रतिष्ठानले चाहेको बेला जनशक्ति लिन पनि सक्छ,' ढकालले भने, 'त्यसैले सबै विवरण तयार गरी वेबसाइटमा राख्दै छौं ।' विभागका अनुसार नेपालमा अनुमानित बर्सोनि ३ लाख नयाँ श्रम शक्ति उत्पादन हुने गरेको छ ।
सूचना केन्द्रहरूले बेरोजगारहरूको व्यक्तिगत विवरण, उमेर, लिङ्ग, योग्यता, तालिम, अनुभव, इच्छाएको कामजस्ता विवरणहरू भरेर राख्ने गरेका छन् । यो वर्ष करिब ४ लाख बेरोजगारको विवरण संकलन गर्ने लक्ष्य लिइएको छ । यसका लागि ६३ लाख २४ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
सूचना केन्द्रमा कर्मचारीको अभाव र प्रचारको कमीले फारम भर्नेको संख्या न्यून छ । श्रम विभागले भने जिविस र नगरपालिकाको सहयोगमा पनि फारम भर्ने जनाएको छ ।
काठमाडौं श्रम कार्यालय टेकुका प्रमुख शरद अधिकारीले प्रचार-प्रसार अभावमा थोरैमात्रले फारम भरेको बताए । '५० हजार फारम आएको छ, अहिलेसम्म एक सय ६ जनाले मात्र भरेका छन्,' अधिकारीले भने, 'एकैचोटी भर्न आए भने कर्मचारी पनि पुर्‍याउन सकिँदैन ।' उनले सूचना केन्द्रको लागि ३ दरबन्दी स्वीकृत भए पनि कर्मचारी आइनपुगेको बताए ।
नेपालजन्गस्थित श्रम कार्यालयका प्रमुख रामचन्द्र पौडेलले स्थानीय पत्रिका र एफएमबाट फारम भर्नेबारे जानकारी दिइएको बताए । 'फारम भर्न आउनेले तत्काल केही पाइँदो रहेनछ भन्छन्,' पौडेलले भने, 'अहिलेसम्म करिब ६० जनाले भरेको छन् ।' उनले फारम भर्नको लागि नगरपालिका र जिविसमार्फत बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेखमा जानकारी पठाएको पनि बताए ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment